Thursday, January 29, 2015

फूलको थुङ्गा

स्वर: तारादेवी
रचना: माधव घिमिरे
सङ्गीतः नातिकाजी


फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा

(झरीको पछि झुल्केको घाममा नीर सर्‍यो पहाडको) २
भर्खरै प्रीति बसेको बेला पीर पर्‍यो बिछोडको ।
कहिले भेट होला है राजै यो जिन्दगानीमा

(नहाँसूँ भने सखीलाई पीर, मै हाँसूँ कसरी) २
रोउँला राति भनेर आँसु मै साँचूँ कसरी ।
कहिले भेट होला है राजै यो जिन्दगानीमा

(रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले) २
त्यो कान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले ।

सबै बेहोशी

स्वर: भक्तराज आचार्य


(सबै बेहोशी नशा पिएर
बिना पिएरै बेहोश छु म
अरु निर्दोषी माया भुलेर
बिना भुलेरै दोषी छु म)२
बिना भुलेरै दोषी छु म
सबै बेहोशी नशा पिएर

(सपना फुटेर आँशु बनेछ
त्यो आँशु फेरि व्यथा बनेछ)२
आँशुका फोका मोती बनेर
उदास मनको कथा भनेछ २
सबै बेहोशी नशा पिएर

सुनसान बगरमा आँधी चलेछ
फैलेर आँधी चाहाना बनेछ
नअटेर माया अँजुली भरेर
ढलपल आँखा सागर भुलेछ २

सबै बेहोशी नशा पिएर
बिना पिएरै बेहोश छु म

Monday, January 26, 2015

तिमीलाई हाँसेर

स्वर : तारा देवी
शब्द : चाँदनी शाह


तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २
तिमी मलाई छोडी गैसकेको मात्र के थियौ
तिमी फर्कने दिन (म हतारिदै गन्न लागें) २

(यो दुई दिनको विछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो) २
मान्छेको हुलबीच पनि शून्यपन कस्तो २
ताराहरुलाई छोडी चन्द्र लुकिदिए जस्तो

तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २
(यी दिन यी रातका हर पल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो) २
यी मीठा गीतका धुनका पनि कति झर्को लाग्दा २
फूल झरि काँडा मात्र बाँकी भइदिए जस्तो
तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २

उकाली ओरालीहरुमा

स्वर : तारा देवी
शब्द : चाँदनी शाह


उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु
उकाली ओरालीहरुमा
तराइँका हरिया फाँटमा पहाडका तरेलीहरुमा २
हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाई सुसेलीहरुमा गीत बनी गुन्जिरहन्छु
उकाली ओरालीहरुमा
मुटु कमाउने जाडोहरुमा कपाल दुख्‍ने गर्मीहरुमा २
मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु
ती लेक बेसी अनि पाखाहरुमा पवन बनी भेटिरहन्छु
उकाली ओरालीहरुमा